गजल – राजु लामिछाने

कहिल्यै पूरा हुनै नसक्ने चाहाना बाेकेको छ !
जसले मनमा अनेकथरी बहाना बाेकेको छ !

आमा लेख्न सिकाईदेऊ, देश लेख्न सिकाईदेऊ !
सानो बच्चाले कलम र खाली पाना बोकेको छ !

गरिब होईन उ धनि हो, मान्नुहोस् नमान्नुहोस् !
निधारमै जसले पसिनाको कारखाना बोकेको छ !

ठालुहरुले जति बेला नि, सरुवा गर्दिन सक्छन् !
यहीँ सोचेर कर्मचारीले साथैमा रमाना बोकेको छ !

जुन बेला नि आउन सक्छ, तिम्रो घरमा आँसु !
यो नबिर्स यमराजले सबैको ठेगाना बोकेको छ !

(०७६/०१/२९)

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close