यात्रा भाग ११ – सितल चौलागाईं

उसको स्पर्शले मन एकदमै प्रफुल्ल भए ता पनि मैले उसलाई “ह्या के गर्या होला” भन्दै पर धकेलिदिए किनकि अहिलेको समयमा हामी त्यतिबेलाका जस्ता प्रेमी थिएनौं। मलाई उसको अंगालोमा हेमेसा बस्ने मन नभएको पनि होईन , तैपनि मलाई अहिले भने उसँग यसरी नजिक हुन असहज लाग्छ ।  उसले छोडेर गएको झलक्क याद पनि आउँछ। त्यतिखेर पक्कै पनि यो क्यानसरको रिपोर्ट थिएन ,उसले मलाई केही नभनी छोडेर आएको थियो । किन किन मलाई ऊ एक्कासि पराइ जस्तो लागेर आउँछ ।अब घर छोडेर यति टाढा आइसकेपछी आफूलाई माया प्रेममा अल्झनदिनु भनेको मुर्खता थियो। तैपनि के गर्नु ? घरीघरी म आफूलाई झन् मुर्ख बनाउदै प्रजोल को आँखामा डुब्न् पुगीहल्थेँ। आफूलाई यताउता फस्न दिन्न , केहि गरेर मात्र गाउँ फर्किनु छ भनेर सोच्छु । तर फेरि आफूले माया गरेको मान्छेसंगै हुँदा आफूलाई समाल्न पो सक्ने हो कि होइन ? म एकाएक टोलाएको देखेर प्रजोलले मेरो कुममा प्याट हान्यो। म झसङ्ग भएँ। अनि चिया बनाउछु भन्दै उठें म ।

आफूसँग धेरै पैसा त थिएन तर फेरि यसरी प्रजोलहरुसँग नै बस्न पनि आफू बोझ भएको भान हुन थालेको थियो मलाई। त्यसैले मैले अन्कललाई कोठा र काम खोज्दिन अनुरोध गरेँ। अन्कलले भन्नुभयो,“काठमाडौं हो नानी, भन्नेबितिकै कहाँ कोठा पाइन्छ र? फेरि अति नै महङ्गो छ नानी यहाँ। पानी ,बिजुली भन्दै अनेक तिर बाट पैसा लिन्छन् । नाम मात्रको काठमाडौं हो यो त ।” अन्कलको कुरा सुनेर म चुपचाप भएँ, त्यतिकैमा प्रजोलले भन्यो, “म र अन्कल उता कोठामा बसौंला, तिमी भन्सामा बस्नु नि टुंगो नलागुन्जेल ।” उसको कुरामा अन्कलले सहमति जनाउनु भयो । मलाई असजिलो लाग्दै थियो , त्यहिपनि अरु कुनै उपाय थिएन । त्यसैले मैले “ भाडा म पनि मिलाएर दिन्छु है त!” भनें। मेरो कुरा सुनेर दुबै जना मुसुक्क हासे तर केहि प्रतिक्रिया भने दिएनन् ।अन्कलले भोलि काम पनि बुझ्दिने कुरा गर्नुभयो । अर्को दिन एउटा लुगा पसलमा काम पाएको कुरा गर्नुभयो । मैले पनि “ हस् म गर्छु” भन्दै सहमतीमा टाउको हल्लाएँ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close