बार्सिलोना बराबरीमा रोकियो, उपाधी होडमा कमजोर हुँदै

काठमाडौँ। गएराति भएको स्पेनिस लिग लालिगामा बार्सिलोनालाई एट्लेटिको मड्रिडले दुईदुई गोलको बराबरी खेल खेलेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई एट्लेटिको बराबरीमा रोक्न सफल भएको हो । पछिल्ला खेलहरुमा एकपछि अर्को गर्दै अंक गुमाइरहेको बार्सिलोना रियल मड्रिडसँग पछि पर्ने सम्भावना उत्तिकै बढेको छ । लिगको शिर्षस्थानमा उक्लिने मौका बार्सिलोनाले गुमाएको छ ।

खेलको १२ औँ मिनेटमा डियगो कोस्टाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । तर, खेलको १९ औँ मिनेटमा एट्लेटिकाका साउलले बराबरी गोल फर्काउन सफल भए । खेलको ५० औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाएका थिए ।

तर, खेलको ६२ औं मिनेटमा साउलले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । लिग सुचारु भएयता बार्सिलोनाले तीन खेल बराबरी र तीन खेलमा जित हात पारेको छ । तीन खेलमा अंक बाडेको बार्सिलोनालाई रियलले पछि पार्न सफल भएको हो । यसअघि सेल्टा भिगोसँग बार्सिलोनाले दुईदुई गोलको बराबरी खेल खेलेको थियो ।

यो बराबरीसँगै बार्सिलोनाको ७० अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ । लिगको शीर्ष स्थानमा रहेको रियलको ७१ अंक छ । एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close