आमाहरूको देश -हेमन्त गिरी 

म घर छोडी हिंडेको दिन
बाटो भरी
आँखा बिछ्याएकी थिइन रे आमाले
तब सम्म
जब सम्म म ओझेल परिन !!

म घर फर्किने खबर पाएको दिन
उसै गरी
आँखा बिछ्याउनेछिन आमाले बाटो भरी
तब सम्म
जब सम्म म आँगनमा उदाउने छैन !!

बिदाइ र पर्खाइ बिचको क्षितिजमा
आमाहरू,
आफ्नै किसिमको नक्सा कोरिरहन्छन
आफ्नै किसिमको देश बनाइरहन्छन
जहाँ
उनका सन्तानहरू सधै अटाइरहून् !!

फेरि किन
कुन फटाहाले
सुनाइदिन्छ बेला-बेलामा
‘देशको नयाँ नक्सा बन्यो’ भनेर ?!

सन्तान नअट्ने
देश र नक्साको कुरा
अरुलाई त रमाइला लाग्लान,
आमाहरूलाई लाग्दैनन !

आमाहरूको आफ्नै देश हुन्छ !!

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close