अभीप्सा:-गणेश बाबु अधिकारी (बाबू)

कविता – अभीप्सा
छन्द – मन्दाक्रान्ता

हेर्दा लाग्ला अमुक जब ऊ रात बोकेर आयो
बेग्लै बास्ना अरक नभए के थियो खासमा त्यो
दायाँ बायाँ जमिन अपुरो लाग्छ संसार उस्तै
मेरै हो यो सगर सब नै मात संहार उस्तै!१!

भो भो भन्दै नजिक नजिकै हात राख्दै छ फेरि
आँखा आँखा अमुक ममता युद्ध गर्दै छ फेरि
कस्तो होला जब जब उसै सास बढ्दै गयो लौ
सर्दै सर्दै निकट रहँदा लाज पानी भयो लौ!२!

वर्षा होला अडकल थियो मेघ गर्ज्यो दुखाइ
भिज्दै आयो अवयव जसै चाँद घुम्टो लुकाई
खोल्सा खाल्सी भरिभर भए बाँध खुल्ला भएछ
बाढी आयो घरभरि कठै धैर्य टुट्दै गएछ!३!

कालो छायो नयन भरि नै त्रास बेग्लै थियो के
बाटो यौटै शहर उसकै खेल यो हार सम्झेँ
लौरी टिप्दै अकमक परें आँट गर्दै छु तर्न
बीचैमा त्यो अडिनु कसरी साथ पर्ने छ झर्न!४!

बेग्लै सोचें नभन नतिजा भोलि जस्तो त होला
हाँस्दै रम्दै दिन वितिगयो जे भयो खास आहा!
सम्झे है यो पल सब सधैँ बाँच्न आधार बन्छ
देख्दा भेट्दा अब नभुल है याद उस्तै रहन्छ!५!

गणेश बाबु अधिकारी (बाबू) गोरखा

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close