कविता – ब’लात्कार कहिलेसम्म ? ??

कविता – ब’लात्कार कहिलेसम्म ?

विपरीत भएर पनि विपरीत भएनौँ
तिम्रो तृष्णा – मेरो उमेर
दुवै बढिरहे समान्तर घेरामा ।

देवीको देशमा जन्मिएर
मन्दिरमा ब’लात्कृत हुन्छन् नारी
एक युद्ध जितेर छोरी जन्माएपछि
हुर्काउँछिन् आमाले मायाको तानमा
कहिलेसम्म लुटिन्छ आफ्नै बाबुबाट
छोरीहरुको इज्जत मानवता बेचेर ?

दाजुभाइको सुरक्षा होस् भनेर
सप्तरङ्गी टीका लगाइदिन्छन् दिदीबहिनी
त्यही टीकालाई बिर्सिएर -कुल्चिएर
कहिलेसम्म पापको प्यास साटिन्छ ?
परिवार सबै ठाउँमा परिवार बनोस्
विश्ववास र भरोसाको प्रतिमुर्ति बनोस् ।

बाटोमा हिँड्न पाइला डराउँछन्
मन आतिन्छ एकान्तमा डुल्न
स्वतन्त्र हुँदा पनि हामी स्वतन्त्र छैनौँ
समान अधिकार त चाहिएकै छैन
वस् !नारीको अस्मिता -इज्जतलाई
नलुटिने गरी मानवताले ढाकोस् ।

आत्मरक्षाको दीप सल्काएर
ढुक्कसँग हिँड्ने बनाउनु छ नारीलाई
बलात्कृत आँसुलाई हेरेर भन न !
तिमीले फाँसीको सजाय दिन सक्नुपर्ने
न्यायहिन बाबुआमालाई देखिरहँदा
अदालत ! तिमीलाई मुटुमा चसक्क पोल्दैन ?

ए मानव !
आफुभित्रको साँघुरो सोचलाई भ्रष्ट गर
र मनलाई बन्धकी राखेर भन
जहाँसुकै ब’लात्कार अन्त्य हुनुपर्छ
नारीको अस्तित्व सेतो टालो हो भने
विन्ती! कुरुप छिट्टाले फोहोर नगरिदेऊ
यो इज्जतको टालो धोएर सफा हुँदैन ।

रोशन तिमिल्सिना
कास्की पोखरा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close