


##पञ्चचामर छ्न्द
_____कविता____
भक्ति भावमा



अनेक खण्ड पुष्पले , भरेर रंग बोटमा
अपार हर्ष भर्दछ्न्, छरेर कान्ति ओठमा।
छ चन्द्र सूर्य माथमा,हिमाल हाँस्छ साथमा
मधेस झर्छु प्रातमा, पहाड बास साँझमा।।
डुबेर भक्ति भावमा ,उमंग अङ्ग अङ्गमा
म गर्छु आज वन्दना, रचेर शब्द शब्दमा।
बनेर दूत शान्तिको, र मोक्ष मार्ग लेखनी
महान बुद्ध जन्मिने,यहीँ छ ठाउँ लुम्बिनी।।
अनेक रंग रूपमा, अनेक जात धर्ममा,
समान ज्योति छर्दछ्न्, सदैव देव भक्तमा।
विभेद छैन वेदमा, विभेद त्याग जातमा
समानता रुझानमा, समानता छ रागमा।।
हरेर कष्ट प्रेमले, थपेर तिर्सना नयाँ
अभीष्ट शिष्ट भावमा, रचिन्छ सिर्जना नयाँ।
जगाउँदा सचेतना , घटेर जान्छ वेदना
हुँदा त मुक्ति मार्गमा, न हुन्छ शेष चाहना।।
हरेक जन्म जन्ममा, सुधार गर्छ कर्मले
गरी सदैव साधना, सकाम उच्च धर्मले
जितेर विश्व व्योममा, प्रभाव पार्छ सृष्टिले
सुमार्ग चिन्नुपर्छ यो, हुदैनअन्ध दृष्टिले।।
बसन्त बिक्रम जि: सि (बसन्तऋतु)
भूमिकास्थान १० अर्घाखाँची !