कोरोना संक्रमण तिब्र बढेपछि काठमाडौ उपत्यकामा कडाई

काठमाडौ । कोरोना संक्रमण तिब्र रुपमा बढेपछि काठमाडौ उपत्यकाका तीनवटै जिल्लामा कडाई गरिएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गरेको हो ।

आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आज साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ । यस्तै भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

दैनिक हुने नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधिमा रोक लगाइएको बताइएको छ । शैक्षिक संस्थाहरू सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ ।

त्यस्तै कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा÷साइकल सञ्चालन हुने व्यवसायमा पनि रोक लगाइएको छ ।उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट सञ्चालनमा पनि कडाइका गरिएको छ ।

गृहमन्त्रालयले संक्रमित हुनेको संख्या निरन्तर बढ्दै गएपछि काठमाडौ भित्रने र बाहिरिनेका लागि दिइने पास पूर्ण रुपमा बन्द गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close