अबको महाधिवेशनमा गगन थापा महामन्त्री कि सभापति ?

काठमाडौं। गगन थापा समाजको आम तप्काका लागि सुनिने र देखिने प्रतिपक्ष हुन् । उनी सरकारको मात्रै होइन, आफ्नो पार्टी कांग्रेसमा पनि प्रतिपक्षी भूमिकामा छन् । धेरैले भन्छन्, ‘थापा संसद्मा नभएको भए कांग्रेसको भूमिका अझै खुम्चिन्थ्यो । उनीजस्तै युवाको उप’स्थिति पार्टी केन्द्रीय कार्यसमितिमा नभइदिएको भए नेतृत्वको मनमौजी अझै चल्थ्यो ।’

कांग्रेस निकट वि’श्लेषक पुरञ्जन आचार्यका अनुसार थापा कुनै नेताको फेर समातेर नभई सडकले बनाएका नेता हुन् । ०६२/०६३ को जनआन्दोलन यताका समयमा समाजको मुद्दा बोक्न र मुद्दालाई आम जनतामाझ सञ्चार गर्न सक्ने क्षमता कांग्रेसमा बीपीपछि थापामा आफूले देखेको आचार्य सुनाउँछन् । ‘उनको लोकप्रियतालाई भजाउन सक्ने हो भने पार्टीलाई धेरै माथि ल्याउन सकिन्छ,’ उनले भने-‘तर कांग्रेसमा त्यस्तो संस्कृति छैन ।’

पार्टीले लोकप्रियता भजाउन नसके पनि आफैंले निर्माण गरेको जगबाट माथि आउन थापाको संघर्ष भने जारी छ । पार्टीभित्रको गुट उपगुट, नेताहरूको सिन्डिकेड र प्रतिनिधिमूलक परम्परागत निर्वाचन प्रणाली छिचोल्दै नेतृत्व सम्हाल्ने भूमिकामा आउन उनीजस्ता नेतालाई ठूलै सकस पर्ने देखिन्छ । जस्तो, १३ औं महाधिवेशनमा पर्‍यो । एकातिर बीपी कोइरालाको विरासत बोकेका शशांक कोइराला थिए, अर्कोतर्फ आफ्नै ससुरा अर्जुननरसिंह केसी । पार्टीको मूलधारको प्रतिनिधित्वसमेत कोइराला र केसीकै पक्षमा थियो । सभापति शेरबहादुर देउवा प्यानलमा केसी र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट कोइराला खडा थिए । दुइटै टिमको प्यानलमा ठाउँ नपाएपछि उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा उनी जोडिए ।

प्रतिस्प’र्धामा ससुरासमेत जोडिएपछि पारिवारिक सम्बन्धमै तलमाथि होला कि भन्ने भय उनमा थियो । तर, उनी पछि हटेनन् । यसमा उनले समाजसित गरेको वाचा मुख्य कारण थियो । ससुराभन्दाअघि नै उनले महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका थिए । १३ औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा उनका लागि आफैंमाथिको परीक्षण थियो । ५ सय ८४ मतका साथ उनी तेस्रो स्थानमा रहे । शशांक १४ सय १७ मतका साथ विजयी भए । केसीको १ हजार १७ मत थियो ।

पार्टीमा नेतृत्व परिवर्तनको मुद्दा अहिले चलिरहेको छ । देउवा र पौडेलको पुस्ताबाट अब पार्टी चल्दैन भन्ने विषय जोडतोडले उठिरहेको छ । जुन विषय १३ औं महाधिवेशनमा पनि उठेका थिए । ‘१३ औं महाधिवेशनमा हामी १०/१५ जना युवा निरन्तर जम्मा हुन्थ्यौं । नेतृत्वको विषयमा लामो छलफल गर्थ्यौं । युवामा नेतृत्व ह’स्तान्तरणको कुरा हुन्थ्यो । त्यतिबेला मैले तपाईंहरू हिम्मत गर्नुहोस्, गर्नुहुन्न भने म गर्छु मलाई साथ दिनुहोस् भनेको थिएँ, कसैले नाइँ भन्नुभएन,’ थापाले सम्झिए, ‘तर भोट हाल्ने बेला म एक्लै लखरलखर हिँड्नुपर्‍यो । युवा साथीहरूकै साथ मैले पाइनँ ।’

अहिले पनि उस्तै परिवेश र अवस्थाबाट नेतृत्वमा आउन थापाजस्ता युवाले ठूलै पापड बेल्नुपर्ने विश्लेषक आचार्यको बुझाइ छ । ‘पार्टीको यही प्रतिनिधिमूलक प्रणालीबाट नेतृत्वका आउनका लागि कि त नेताहरूकै फेर समात्नुपर्छ, कि पालो कुरेरै बस्नुपर्छ,’ उनले भने । थापाको आगामी लक्ष्य स्पष्ट छ, १४ औं महाधिवेशनमा महामन्त्री बन्ने र १५ मा सभापति हुने । पार्टीभित्र मुख्य तीन गुट रहेकामा थापा अहिलेसम्म सिटौला समूहमै छन् । १३ औं महाधिवेशनमा स्वतन्त्र ढंगले नेतृत्वमा आउन सम्भव छैन र तेस्रो धारबाट पार लाग्न पनि मुस्किल छ भन्ने देखाएको छ ।

पार्टी सभापति देउवाले दुई दशकदेखि नै आफ्नो गुटलाई ‘इन्ट्याक्ट’ राखेका छन् । पार्टीभित्रको नेटवर्किङ प्रणालीमा उनी एक्लैको ४० प्रतिशतभन्दा बढी पकड छ । इतरपक्षका सबै (वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सिटौला, शेखर कोइरालासहितको समूह) को संगठनमा करिब ६० प्रतिशत ‘होल्ड’ छ । त्यसमध्ये सिटौला पक्षको करिब ‘१०’ प्रतिशत भएको अनुमान छ । सिटौला पक्षमा जनाधार भएका थापा आफैं हुन् । अहिलेसम्म उनी सिटौला पक्षमा जोडिरहे पनि आगामी महाधिवेशनमा त्यहीँ समूहबाट उम्मेदवार हुने सम्भावना निकै कम छ । कतिपयले उनी सभापति देउवासँगै जोडिए महामन्त्रीको उम्मदेवार बन्ने अनुमानसमेत लगाएका छन् । तर त्यसलाई उनी सत्य मान्दैनन् । देउवासँग उनको विगतदेखि केही सै’द्धान्तिक र कार्यशैलीगत विमति छन् । कुलचन्द्र न्याैपानेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close