ओली र प्रचण्ड सहमति नजिक:मन्त्री फेरबदलदेखि बिचारधारा परिवर्तनसम्मको एजेन्डा

काठमाडौ। लामो समयदेखि आन्तरिक विवादमा फसेको सतारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः चैतमा महाधिवेशन गर्ने गरी सहमतिको बाटो तय गरेको छ । साउन २० गतेबाट वार्तामा बस्न नसकेका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहीबार बसेको बैठकले जारी विवाद समाधानको लागि चैतमा महाधिवेशन गर्ने गरी कार्य विभाजनमा सहमत भएसँगै नेकपाको विवाद समाधानउन्मुख भएको हो ।

करिब दर्जनबढी भेटवार्तामा जुटे पनि अध्यक्षद्वयले सहमति गर्न नसकेपछि नेकपाका दोस्रो तहका नेताहरूले दुई अध्यक्षलाई सहमतिमा ल्याउन सफल भएका हुन् । विशेषगरी महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ र जनार्दन शर्मालगायतका नेताहरूले झण्डै १० दिन लगातार ओली र प्रचण्डसँगको परामर्शपछि एक सहमतिको खाका तयार गरेका थिए । उक्त खाकामा ओली र प्रचण्ड सकारात्मक भएपछि उनीहरू विहीबार वार्तामा बसेका थिए । उनीहरू दोस्रो तहका नेताहरूले तयार पारेको खाकाको मूल मर्म नमर्नेगरी परिमार्जन गरेर बृहत् सहमतिको लागि तयार भएका हुन् ।

ओली र प्रचण्ड बीचको वार्तामा महाधिवेशनदेखि शीर्ष नेताहरूको कार्यविभाजन र राजनीतिक कार्यदिशादेखि आगामी निर्वाचनसम्मको खाका तयार पारेर बृहत् सहमति गरेर विवाद समाधान गर्न सहमत भएका छन् । प्रचण्डले बालुवाटार जानु अगाडि नै वरिष्ठ नेता माधव नेपाल र झलनाथसँग परामर्श गरेर कतिसम्म लचिलो भएर प्रस्तुत हुने भन्नेमा निश्चित भएर बालुवाटार प्रस्थान गरेका थिए । दोस्रो तहका नेताहरूले तयार पारेको खाका बारे पनि प्रचण्ड नेपाल समूहमा छलफल भएको थियो । फलतः प्रचण्ड र ओली दुबैजना केही लचिलो हुँदै सहमतिको नजिक पुगेका हुन् ।

यी ४ विषयमा जुट्यो सहमति
ओली र प्रचण्डबीच विहीबार भएको वार्तामा विभिन्न चार विषयहरूमा सहमति जुटेको छ । सहमति जुटेका विषयलाई आज अन्तिम रूप दिएर लिखित सहमति गरिनेछ । ओली–प्रचण्डबीच सहमति जुटेका चार विषय यस प्रकार छन् ।

१: मन्त्री र मुख्यमन्त्री फेरबदल
ओली र प्रचण्ड मन्त्रीपरिषद् पुर्नगठनमा सहमत भएका छन् । कार्यकाल २ वर्ष पूरा गरेका मन्त्रीहरूलाई विदाइ गर्ने ओली–प्रचण्डको तयारी रहेको स्रोतले बतायो । त्यसैगरी कम्तिमा पनि २ मुख्यमन्त्री फेरबदल गर्नेबारेमा पनि ओली प्रचण्ड सहमत भएको बताइन्छ । पूर्व एमालेको तर्फबाट एक र पूर्वमाओवादी तर्फबाट एक गरी २ मुख्यमन्त्रीलाई विदाइ गर्ने तयारी गरिएको छ ।

२ः राजनीतिक विचारधारा
ओली र प्रचण्डबीच जनताको जनवादलाई नै राजनीतिक विचारधाराको रूपमा अगाडि बढाउने विषयमा पनि सहमति जुटेको छ । यसअघि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) लाई राजनीतिक कार्यदिशा बनाउन प्रचण्डलाई दवाव दिएको खबर सार्वजनिक भएका थिए । तर अब भने ओली जनताको जनवादलाई नै पार्टीको राजनीतिक कार्यदिशा बनाउन सहमत भएका छन् ।

३ः सहकार्यमा पार्टी र सरकार सञ्चालन
ओली र प्रचण्डबीच सहकार्यमा पार्टी र सरकार सञ्चालन गर्नेबारे सहमति जुटेको छ। ओली सरकार सञ्चालनमा ध्यान दिने र प्रचण्ड पार्टी सञ्चालनमा ध्यान दिने तर समस्या आए दुबैले अर्कोसँग सहकार्य गरेर मात्र काम कारवाही र नियुक्ति प्रक्रियालाई अगाडि बढाउन पनि सहमत भएका छन् । यसै विषयमा प्रचण्डलाई महाधिवेशनमा एकल अध्यक्षको उम्मेद्वार बनाउने र ओलीलाई ५ वर्ष नै सरकार सञ्चालन गर्न दिने विषय अन्तरनिहित भएको बताइन्छ । तर सो विषयलाई हल्लाको विषय नबनाउने अध्यक्षयबीच सहमति भएको स्रोतको दाबी छ ।

४ः चैतमा महाधिवेशन
चैतमा महाधिवेशन गर्ने विषयमा ओली र प्रचण्ड सहमत भएका छन् । महाधिवेशन चैतको कति गते मिति तोक्ने जिम्मा भने सचिवालयलाई दिइने भएको छ । साथै महाधिवेशनमा प्रचण्डलाई अध्यक्षको एकल उम्मेद्वार बनाउने विषयमा पनि सचिवालयमै सहमति जुटाउने प्रयास गरिने भएको छ । त्यतिमात्र होइन, महाधिवेशनपछि ओलीलाई सर्वोच्च नेताको पद दिनेबारे पनि सचिवालयमा सहमति जुटाउने विषयमा ओली र प्रचण्ड सहमत भएका छन् ।

स्रोत: नवकान्तिपुर

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close