कांग्रेसमा कृष्णप्रसाद सिटौला निर्णायक‌,‌ दुबैतिरबाट तानातान!!!!

काठमाडौँ। कांग्रेसमा आसन्न महाधिवेशनको माहोल अघि बढ्दै गर्दा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैका नजर नेता कृष्णप्रसाद सिटौलातिर छन् । आफ्नो समूहलाई एकढिक्का बनाइराख्न सकेको खण्डमा पार्टीभित्रको आन्तरिक शक्ति संघर्षको तुलोमा सिटौला जता उभिन्छन्, उतै पल्लाभारी हुने सम्भावना छ ।

त्यसैलाई बुझेका देउवा र पौडेलले सिटौलालाई फकाउन चाहेका छन् । फकाउन नसके फुटाउने रणनीतिमा छन् । तर सिटौला कुनै पनि कित्तामा उभिने अवस्थामा छैनन् । ‘म आफ्नै समूहमा छु, कतैपट्टि पनि छैन,’ उनले भने, ‘भोलि कहाँ गएर उभिने भन्ने कुरामा मैले आफूलाई होइन, पार्टीलाई केन्द्रमा राखेको छु ।’

खासमा सिटौला पार्टीमा बदलिन सक्ने सम्भावित समीकरणलाई नियालिरहेका छन् । आन्तरिक शक्ति संघर्षमा देउवा, पौडेल र सिटौला नेतृत्वका तीन मुख्य पिल्लर छन् । महाधिवेशन नजिकिँदै गर्दा यी पिल्लर हल्लिने सम्भावना पनि उत्तिकै छ । जस्तो कि, आफ्नो पक्षमा सर्वसम्मत भनिएका देउवालाई चुनौती दिन बिस्तारै त्यस समूहभित्रै उपसभापति बिमलेन्द्र निधिले भूमिका खेलिरहेका छन् । १३ औं महाधिवेशनकै बेला यसपटक आफूलाई सघाउने वचन दिएको भन्दै निधिले आफ्नो उम्मेदवारीको सम्भावनालाई बढाउँदै लगेका छन् । पछिल्लो पटक बेलाबखत देउवा र निधिबीच उत्पन्न हुने खटपटलाई समेत यसै सन्दर्भमा जोडेर हेर्ने गरिएको छ ।

पौडेल समूहमा त उपगुट नै बढी छन् । पौडेल आफैं उम्मेदवारका लागि अघि बढिरहेका छन् । महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालाको आकांक्षा पनि चुलिइसकेको छ । नेता रामशरण महत योग्यता, क्षमता र योगदानको हिसाबले आफूलाई पनि चौतर्फी दबाब आएको भन्दै दाबी पेस गरिरहेका छन् । आमनिर्वाचनलगत्तै देउवासँग कार्यशैलीगत मतान्तर राखेर अलग भएका सिटौलाको मुख्य बल युवा नेता गगन थापा हुन् । त्यसपछि उनीसँग जोडिएका नेताहरूमा उमाकान्त चौधरी, प्रदीप पौडेल, शिव हुमागाईं, भीमसेनदास प्रधानलगायत छन् । प्रधान र हुमागाईं संस्थापन पक्षसँग बढी निकट छन् । थापा, पौडेल र चौधरी देउवासँग असन्तुष्ट छन् । सुरुवाती केही दिनमा चौधरी देउवासँग निकट देखिए पनि पछिल्लोपटक पौडेल पक्षसँग हिमचिम बढेको कुलचन्द्र न्यौपानेले कान्तिपुरमा लेखेका छन् ।

आफूले खुट्टा छाडिदिँदा कोही देउवा त कोही पौडेल शिविरतिर जाने सम्भावना देखेका सिटौलाले आफ्नै समूहलाई महाधिवेशनसम्मै इन्ट्याक्ट बनाउने सोचाइ राखेका छन् । आफ्नो समूहलाई एकढिक्का बनाउन सकेमा मात्रै महाधिवेशनमा आफ्नो निर्णायक भूमिका रहने उनको विश्लेषण छ । त्यसैले आफैं उम्मेदवार हुने वा अरू कसैलाई सघाउने भन्नेबारेमा महाधिवेशन नजिकिँदै गर्दा बदलिन सक्ने समीकरण हेरेर मात्रै निर्णय लिने पक्षमा उनी देखिन्छन् । सम्भावित उम्मेदवारी र भूमिकालाई लिएर सोधिएको प्रश्नमा सिटौलाले भने, ‘अहिल्यै बोल्न हतारो हुन्छ । कम्तीमा क्रियाशील सदस्यताको टुंगो लाग्दासम्म कुर्नुपर्छ ।’

त्यसका पछि केही तर्क पनि छन् । अगाडि नै बोल्दा देशभरका कार्यकर्तामा विभाजित मानसिकता देखापर्छ । सदस्यता दिनेमै भेदभाव बढ्न सक्छ । यसले आफूलाई मात्रै नभई पार्टी संगठनलाई आघात पुर्‍याउने उनको विश्लेषण छ । ‘मैले मात्रै होइन, कुनै पनि नेताले क्रियाशील सदस्यता टुंगो नलाग्दासम्म इच्छा, आकांक्षा प्रकट गर्न हुन्न । तेरो र मेरो नभनी जनस्तरमा कार्यकर्तालाई बचाउन लाग्नुपर्छ । त्यतिञ्जेल वर्तमान सभापतिले पनि म उम्मेदवार हो भनेर भन्न मिल्दैन ।’

केन्द्रको नेतृत्व चयनमा समेत कांग्रेसका क्रियाशील सदस्यकै भूमिका हुन्छ । क्रियाशील सदस्यले पालिकाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्छन्, क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि छान्छन् । तिनै महाधिवेशन प्रतिनिधि केन्द्रका मतदाता हुन्छन् । अहिल्यै निर्णय लिँदा क्रियाशील सदस्यताको नवीकरण र वितरणमै समस्या खडा हुन सक्ने आकलन सिटौलाको छ । त्यही बुझेर सिटौलाले बिनाभेदभाव क्रियाशील सदस्यता नवीकरण र वितरणको माग उठाएका छन् ।

अहिल्यै कित्ता प्रस्ट पार्दा पनि आफ्नै टिम भत्किन सक्ने जोखिम उनमा छ । फेरि आफैं अघि सर्दा उनीसँग जोडिएका युवा नेता थापा, पौडेल, चौधरी तयार हुन्छन् कि हुन्नन् भन्ने प्रश्न पनि छ । थापाको यसपटक महामन्त्री बन्ने र पन्ध्रौं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने लक्ष्य छ । सिटौलाले अहिले नेतृत्व लिएको तेस्रो धारमै रहेर त्यो लक्ष्य प्राप्त गर्न नसकिने निचोडमा उनी पुगेका छन् । १३ औं महाधिवेशनमा सिटौला नेतृत्वमा थापा महामन्त्रीका उम्मेदवार थिए । त्यतिबेला तेस्रो मत पाएका थापाले यसपटक त्यही गल्ती नदोहोर्‍याउने बताइसकेका छन् । त्यसैले थापा सिटौलासमेतलाई पौडेल पक्षमा मिलाउने कसरतमा छन् । केन्द्रीय सदस्य पौडेलका लागि पनि देउवाभन्दा पौडेल नै रोजाइमा पर्छन् । गृह जिल्ला एउटै भएकाले उनको भूमिका पनि पौडेल पक्षबाटै आफ्नो भूमिका खोज्नेतिर छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहसँगको आन्तरिक द्वन्द्वका कारण पूर्वमन्त्रीसमेत रहेका प्रधान सिटौला समूहमा जोडिन आइपुगेका हुन् । त्यसैकारण उनी पौडेलतिर भन्दा देउवातिरै नजिक छन् । हुमागाईं पनि देउवातिर निकट छन् । केही समयअघि देउवाले सिटौलासँग परामर्श नगरी हुमागाईँलाई विभागको संयोजक बनाइदिएका थिए । प्रधान त आगामी महाधिवेशनमा तेस्रो धारबाट सिटौला नै उम्मेदवार हुने दाबी गर्छन् । महाभारतमा कृष्णको भूमिकाजस्तै पार्टीभित्र कुटिल क्षमतावान व्यक्तिका रूपमा उनले सिटौलालाई लिने गरेका छन् । ‘भीमसेन त म भइहालें, कृष्णको जस्तै फिस्स हाँस्ने र सबैलाई कन्भिन्स गर्न सक्ने क्षमता भएको नेता हो सिटौलाजीे,’ उनले भने, ‘यसपटक संगठन निर्माणका लागि देशभर लागेका कारण पहिला जस्तो अवस्था पनि छैन । देउवा र पौडेलको कित्तामा नगई तेस्रो धारलाई अघि बढाउनुपर्छ भनेर हामीले भन्दै आएका छौं ।’

महाधिवेशनका बेला आन्तरिक तथा बाह्य शक्ति केन्द्रको प्रभावसमेत जोडिने गर्छ । नेताहरूको आकांक्षा, शक्ति केन्द्रहरूको प्रभाव र कार्यकर्ताको दबाबका बीच अहिले कायम रहेका यी तीनै समूह नै रहन्छन्, अझै बढी हुन्छन् वा भत्किएर नयाँ खालको समीकरण बन्छ भन्ने दृश्य अझै प्रस्ट भइसकेको छैन । ‘देउवालाई साथ दिने पक्षमा त उहाँ देखिनु हुन्न तर पौडेलतिर एउटै उम्मेदवार हुन्छन् या दुइटा भन्ने प्रस्ट छैन,’ सिटौलानिकट एक अर्का नेताले भने, ‘पौडेल र सिटौलाबीचको आपसी अविश्वास अझै मेटिएको छैन, पौडेल पक्षमा एउटै उम्मेदवार हुने ग्यारेन्टी पनि छैन । त्यसैले उहाँ बदलिन सक्ने विभिन्न खालका समीकरण नियालिरहनुभएको छ ।’

पौडेल–सिटौला अविश्वास

१३ औं महाधिवेशनदेखि नै पौडेल र सिटौलाबीच गहिरो अविश्वास छ । आफूलाई हराउन सिटौलाले भूमिका खेलेको आरोप पौडेलको छ । फेरि पनि त्यही भूमिकामा देखिने हुन् कि भन्ने आशंका उनले पालिरहेका छन् । त्यति हुँदाहुँदै पनि सिटौलाको साथ पौडेलले चाहेका छन् । उनको साथबिना देउवासँगको प्रतिस्पर्धामा जित्न सहज नहुने उनको बुझाइ छ ।

सिटौलाले कोइराला परिवारको लिगेसी पौडेलले लिन नसक्ने मान्यता बोक्दै आएका छन् । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि नै उनले यस मुद्दालाई समातेका थिए । अहिले पनि उनी यस्तै तर्क गरिरहेका हुन्छन् । देउवासँग सम्बन्ध टुटेपछि पार्टीभित्रका कतिपय मुद्दामा सिटौला पौडेलसँग जोडिन आइपुगेका थिए । देउवाको निर्णय र कार्यशैलीप्रति उनीहरूको साझा विमति थियो । त्यसमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पौडेल र सिटौलालाई एक ठाउँमा ल्याउने भूमिका खेलेका थिए । तर, पार्टीभित्रका भागबन्डाका विषयमा सिटौला कतातिर भन्ने समस्या पटक–पटक उब्जिन थाल्यो । पौडेलले पनि उनलाई समेटेर अघि बढ्न सकेनन् । त्यसपछि सिटौलाले सार्वजनिक कार्यक्रममार्फत आफ्नो समूह कायम रहेको सन्देश पटक–पटक दिएका थिए । पछिल्लोपटक सभापति देउवाले विभाग गठन र सदस्यहरू मनोनयनको मुद्दामा पौडेल र सिटौलाबीच मतान्तर देखिएको छ ।

सभापति देउवाले विभाग संयोजक तोक्दा होस् वा सदस्य मनोनयन गर्दा, सिटौलाले असहमति प्रकट गरेका छैनन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रूपमै असहमति जनाएका छन् । महाधिवेशनको निर्वाचन तालिका घोषणा भई प्रक्रिया अघि बढिसकेका बेला सभापति देउवाको यस्तो कदम आचारसंहिता र विधानको व्यवस्थासमेतको विपरीत भन्दै पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले असार १ गते नै लिखित विरोध जनाएका थिए ।

पार्टीको निर्वाचन समितिलाई यस्ता मनोनयन रोक्न र भएकाको बदर माग गर्दै उजुरीसमेत दिइएको छ । लिखित विरोध जनाउँदा पौडेलले सिटौलालाई समेत आबद्ध गराउने प्रयास गरेका थिए । तर, उनले मानेनन् । १३ औं महाधिवेशनमा सिटौलाले देउवालाई सघाएका थिए । तीन जना सभापतिको उम्मदेवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण त्यतिबेला भएको दोस्रो चरणको निर्वाचनमा सिटौला र उनको समूह देउवा कित्तामा उभिएको थियो । त्यसबेलादेखि बनेको देउवा–सिटौला समीकरण आमनिर्वाचन आएपछि भत्किएको हो ।

निर्वाचनका बेलामा सिटौला प्रत्यक्षबाट चुनाव लड्न चाहन्थे तर देउवाले सोध्दै नसोधी समानुपातिक सूचीमा नाम राखिदिएपछि उनी चिढिए । उनले विरोध गरेपछि सिटौला प्रत्यक्षमै चुनाव लडे । तर पनि आफूलाई ‘ह्युमिलेसन’ गरिएको भन्दै उनी देउवासँग असन्तुष्ट थिए । पछि टिकट वितरणमा भूमिका नपाएको, पार्टीले निर्वाचन हारेको र देउवाको कार्यशैलीलगायत विषय पनि त्यही असन्तुष्टिसँग जोडिए ।

पार्टी सञ्चालनका लागि दुई वर्ष आफूले ‘ब्ल्यांक चेक’ दिँदा देउवाले दुरुपयोग गरेको भन्दै उनले संस्थापन पक्षमा नभएको घोषणा गरेका थिए । यति बेला उनी आफ्नै समूहलाई अघि बढाउने ठाउँमा आइपुगेका छन् । हिमाल पोस्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close