सन्दीपको सानदार प्रदर्शनका बाबजुत जमैका पराजीत

काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो तेस्रो खेलमा दुई विकेट लिएका छन्।

जमैका तलावाजका बलर सन्दीपले गुयना अमाजोन वारियर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन्। तर खेलमा सन्दीपको टिम जमैका १४ रनले पराजित भयो।

पहिले ब्याटिङ गरेको गुयना ५ बल खेल्न बाँकी छदा ११८ रनमै अलआउट भयो। उसका लागि ब्रेन्डन किङ्गले सबैभन्दा बढी २९ रन जोडे। बलिङमा सन्दीपले २ विकेट लिँदा मुजिब उर रहमान र कार्लोस बाथवेटले ३-३ विकेट हात पारे।

सन्दीपले ४ ‌ओभरमा २ विकेट लिँदा ८ रन मात्र दिए। उनले १८ बल डट फ्याँक्दा कुनै बाउन्ड्री दिएनन्। २ को इकोनोमीमा बलिङ गरेका सन्दीप खेलकै किफायती बलर भए। सन्दीपले यसअघिका दुई खेलमा १-१ विकेट लिएका थिए।

११९ रनको झिनो लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ७ विकेटको क्षतिमा १०४ रन मात्र जोड्न सक्यो। दुवै ओपनर शून्यमा आउट हुँदा जमैका सुरुमै दबाबमा परेको थियो।

आन्द्रे रसेसले अन्त्यतिर उत्कृष्ट ब्याटिङ गरेर नटआउट ५२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ३७ बलमा ४ चौका र ५ छक्का हिर्काएका थिए। जमैका अंक तालिकामा २ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ। गुयना भने चार खेलमा दुई जितबाट चार अंक जोडेर शीर्ष स्थानमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close