प्रधानमन्त्री केपी ओलीको आँट र साहसले भारत हच्कियो

काठमाडौं । ‘केपी शर्मा ओलीको नेतृत्वमा नेपालले लिपुलेक सहितकाे अ‌ाफ्नाे भूमि फिर्ता लैजान्छ भन्ने कुरा भारतले राम्रोसँग बुझेको छ, त्यसैले वार्ताका लागि चासो दिएको छैन’– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्याल भन्नुहुन्छ ।

एक अन्तर्वार्तामा उहाँले भन्नुभयो – ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आँट र साहसले भारत हच्किएको छ ।’ नयाँ मानचित्रमा समेटिएको लिपुलेक, लिम्पियाधुरा, कालापानी, कुटी, नाभी लगायत भूमि यही सरकारकै पालामा नेपालले भोगचलनमा ल्याउने पनि उहाँले बताउनुभयो ।

केपी ओली सरकार रहँदासम्म भारत वार्तामा बस्दैन हाे ? याे प्रश्नकाे जवाफमा उहाँकाे भनाई छ- ‘जब केपी ओली वार्ताको टेबलमा बस्नुहुन्छ, तब यो विषय टुंगिन्छ, ओलीले भूमि छोडनुहुन्न भन्ने कुरा भारतले मज्जाले बुझेको छ, त्यसैले वार्तामा बस्न आनाकानी गरिरहेको छ ।’

तर नेपालको भूमि फिर्ता गर्न भारतले वार्तामा नबसी सुख नपाउने मन्त्री अर्यालले बताउनुभयो ।

यदि केपी ओलीबिना वार्तामा बस्दा विगतमा जस्तै टालटुल गर्न सकिन्छ, छलछाम गर्न सकिन्छ, नदिए पनि हुन्छ भन्ने भारतलाई लागेकाे र त्यही भारतीय मनोविज्ञानले समस्या पारेको उहाँले बताउनुभयो ।

भूमि फिर्ताका लागि सरकार भारतसँग छलफलमै रहेपनि अहिले केही तिक्तता आएको उहाँले स्विकार्नुभयाे । जुन दिन वार्ताको वातारण बन्छ त्यो दिन भूमि भोगचलनमा ल्याइने भन्दै उहाँले वार्ताको वातावरण कहिले बन्छ भन्नेमा भर पर्ने बताउनुभयो ।

‘विभिन चलखेलले गर्दा अहिले तिक्तता देखिएजस्तो छ, वार्तामा बस्ने वातावरण कहिले बनाउन सकिन्छ भन्ने फरक कुरा हो, वार्तामा बस्दाको दिन सीमा समस्या समाधान हुन्छ, यही सरकारकै पालामा भूमि फिर्ता आउँछ ।’

वातावरण नै बन्न नदिने, विथोलिरहने, हल्लाखल्ला गरिदिने लगायत कारणले वार्ता प्रभावित भएको बताउँदै उहाँले भन्नुभयो – ‘यही स्प्रिटमा काम गर्दै जाने हो भने यही सरकारकै पालमा हामीले भूमिको उपयोग गर्छौ ।’

नेपालले नेपालमाथि न्याय गर्दा अरु कसैले टाउको दुखाउने नपर्ने मन्त्री अर्यालले प्रष्ट पार्नुभयो । ‘हामीले हामीलाई न्याय गर्दा अरु कसैले टाउको दुखाउन पर्दैन, हामीमाथि अन्याय भएको थियो हामीले मानचित्र जारी गरेर न्याय गरेका हाैँ, विगतमा छुटेको हाम्राे भूभाग फिर्ता ल्याउँदा कोही रिस्सीनुपर्दैन, हामीले कसैको नोक्सानी गरेका छैनौँ’- उहाँले भन्नुभयो । भारतसँग कूटनीतिक माध्यमबाट वार्ता गरिने पनि उहाँले बताउनुभयो ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई मानचित्रममा समेट्दाका दुख पनि सुनाउनुभयो । मानचित्र जारी गर्न नदिन अनेक चलखेल भएकाे बताउँदै हल्ला गरेर काम गरेको भए जारी हुन नसक्ने अवस्था अ‌ाउँथ्याे, त्यसैले धेरै हल्ला नगरी मानचित्र तयार पारिएकाे र राजनीतिक वातावरण बनाएर जारी गरिएकाे उहाँले सुनाउनुभयाे ।

सरकारले सगरमाथाको उचाइ नाप्ने काम सकिसकेको बताउँदै मन्त्री अर्यालले छिमेकी चीनले नाप्ने काम नसकेकाले सार्वजनिक गर्न ढिलाई भएकाे बताउनुभयो । ‘विश्वमा मानिने उचाइ हो, चीनले पनि नापिसकेर प्राविधिक काम गर्दैछ, दुवैतिरका अंक मिलाएर चाँडै घोषणा गर्छौं ।’

सरकार पाँच वर्ष नढल्ने बताउँदै उहाँले भन्नुभयो– ‘हामी अ‌ाफ्ना मन्त्री पद छोड्न तयार छौँ तर प्रधानमन्त्री छोड्दैनौँ । हटाउन दिँदैनाैं ।’ सरकार ढल्ने हल्लामा विश्वास नगर्न अपिल गर्दै मन्त्री अर्यालले पाँच वर्ष यही सरकारले ढुक्कले काम गर्ने बताउनुभयो ।

‘हामीले समालेका मन्त्री पद छोड्छौँ तर प्रधानमन्त्री छोड्दैनौँ, प्रधानमन्त्रीलाई साथ दिन्छौँ’- उहाँले पटकपटक दाेहाेर्‍याउनुभयाे । एजेण्डा नै नभएको विषयमा वहस चलाएर जनता र कार्यकर्तालाई निराश पार्न नहुने मन्त्री अर्यालकाे सुझाव छ ।

नेकपाको स्थायी कमिटी बैठकमा आन्तरिक विषयको छलफल बाहिर आएपछि समस्या सुरु भएको उहाँको भनाइ छ । ‘बैठक सुरु भएको तेस्रो दिन लहडको भरमा एजेण्डा नै नभएको विषय ल्याइयाे, सरकार विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीनामाबारे स्थायी कमिटीले निर्णय गर्ने होइन तैपनि यी नचाहिने विषयमा बहस चलाएर जनता र कार्यकर्तालाई निराश पार्न खोज्नु गलत हो’- उहाँले भन्नुभयाे ।

देश र जनताका लागि काम गरिरहेको सरकारलाई कहाँबाट कसरी अप्ठेरोमा पार्न सकिन्छ भनेर चलखेल गर्नु गलत रहेको बताउँदै उहाँले भन्नुभयो– ‘यो भनेको सरकारलाई काम गर्न नदिनु हो, फलाना मन्त्री जाँदैछन, सरकार ढल्दैछ भनेर हल्ला गर्ने, कसैले कसैलाई नटेर्ने, वातावरण बिगार्ने काम गर्नु गलत हो, यी रोक्नुपर्छ, गतिशील पार्टीमा बहस र छलफल हुन्छ यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’

वर्तमान सरकार जनताको सरकार भएकाले जनताको चाहाना अनुसार अघि बढ्ने बताउँदै उहाँले भन्नुभयो – ‘सरकार ढल्दैन, ढुक्क हुनुस् ।’ भूमि मन्त्रालय समालेपछि धेरै सुधारका काम गरेको बनाउँदै मन्त्री अर्यालले यही सरकारकै पालमा भूमिहीनले जग्गा पाउने बताउनुभयो ।

राष्टपति, मन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख पद महिलाले ढुक्कसाथ समालेको सुनाउँदै मन्त्री मन्त्री अर्यालले नेपालमा महिला प्रधानमन्त्री बन्ने योग पनि रहेको बताउनुभयो ।
स्रोत- सनराइज खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close