लिपुलेक नेपालको नक्सामा समेटियो तर भारतले सडक निर्माण कार्य रोकेन

काठमाडौं। केही दिन अघिमात्रै नेपालले आफ्नो नक्सामा समाबेश गरेको लिपुलेकमा भारतले फेरि सडक निर्माण कार्यलाइ निरन्तरता दिएको छ । बिबादको बिच्भारतले लिपुलेक पास हुँदै चीनको मानसरोबर जाने सडक निर्माणलाई निरन्तरता दिएको हो । हेलिकोप्टरबाट डोजरसहितका ठूला मेसिन झारेर भारतले विस्फोटक पदार्थको समेत प्रयोग गर्दै सडक निर्माणलाई तीव्रता दिइएको छ ।

धार्चुलादेखि लिपु पाससम्मको करिब ८० किलोमिटर लामो सडकखण्डको उत्तरी क्षेत्रमा भारतले निर्माणलाई तीव्रता दिएको हो। ठूला मेसिन र विस्फोटक पदार्थ प्रयोग गरेर सडक बनाउँदा सीमा नदी महाकालीको बहाव नै साँघुरिएको छ। विस्फोटक पदार्थको प्रयोग गरेर सडक बनाउँदा महाकालीमा ठूला ठूला चट्टान थुप्रिएका छन्। ठूला चट्टान र माटो थुप्रिँदा महाकालीको बहाव साँघुरिएर माथि आएको छ। नेपालको आपत्तिका बावजुद सडक बनाइरहेको भारतका कारण नेपाली सेनालाई असर गरेको छ।

गत वैशाखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलादेखिको ८० किलोमिटर लामो यो सडकको दिल्लीबाट भर्चुअल उद्घाटन गरेका थिए। नेपालको करिब ३० किलोमिटर क्षेत्रमा पनि सडक बनाएपछि आलोचना सुरु भएको थियो। नेपालले तत्कालै सडकबारेमा आपत्ति जनाएपछि रक्षामन्त्री सिंहले केही समस्या भएमा भारत वार्ताका लागि तयार रहेको जनाएको थियो ।

भारतले सडक बनाएको क्षेत्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर गत जेठ ७ मा नेपाल सरकारले नयाँ नक्सा जारी गरेको छ। उक्त नक्सा दुवै सदनबाट पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण समेत गरिसकेकी छन्। नेपालको लगातारको विरोधका बावजुद भारतले महाकालीको सीमाक्षेत्रमा निरन्तर सडक बनाइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार धार्चुलाको तवाघाटबाट लिपुलेकसम्मै सडक बनाउने क्रम जारी रहेपछि भारतीय सुरक्षा एजेन्सीले गस्ती पनि तीव्र बनाएका छन्। सुरक्षा बलका अधिकारीहरुलाई पनि कालापानी क्षेत्रमा केन्द्रित गरेर निगरानी बढाइएको हो।
अहिले भारतले धार्चुलादेखि अहिलेको त्रिदेशीय सीमा लिपु पाससम्म सडक कटिङको काम पूरा भएको जनाएको छ। जनरल रिजर्भ इन्जिनियरिङ फोर्स उतारेर मुनस्यारीदेखि चीनको सीमासम्म पहुँच मार्ग बनाउन ८० किलोमिटर लामो मुनस्यारी-मिलम सडकको कटिङलाई पनि तीव्र बनाएको छ।

सडक निर्माणमा बाधा बनेको १८ किलोमिटर लामो चट्टान काट्न भारतीय सेनाले हेलिकोप्टरबाट मेसिन उतारेको हो। त्यही मेसिनले कटिङ गर्दा महाकालीको बहावलाई असर गरेको हो। सन् २०२१ सम्म मिलमदेखि पनि चीन सीमासम्म भारतको सडक पहुँच हुने बताइएको छ। यस सडकको निर्माण भएपछि चिनियाँ सीमासम्म भारतको सैन्य क्षमता बढ्ने दाबी गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close