कुश्मा नगरपालिकाले ७० शिक्षकलाइ ल्यापटप किनिदिने

काठमाडौं । पर्वतको कुस्मा नगरपालिकाले ०७७/७८ मा नगरभित्रका ७० जना शिक्षकलाई ल्यापटप वितरण गर्ने भएको छ। प्रविधिमैत्री शिक्षाको विकासको लागि शिक्षक तथा नगरपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारीहरूले पटक पटक ल्यापटप किन्नुपर्ने दबाब दिँदै आएका थिए।

नगरपालिकाको छैटौँ नगरसभामा पेस गरिएको बजेटमा यो कार्यक्रम ल्याइएको हो। शिक्षा शाखाका अधिकृत दीपक सुवेदीका अनुसार यो कार्यक्रमका लागि नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ। उनका अनुसार ल्यापटप किन्दा लागेको खर्चको आधा रकम नगरपालिकाले बेहोर्ने छ भने आधा रकम सम्बन्धित शिक्षकहरूले तिर्नुपर्ने छ।

ल्यापटप वितरणका लागि कार्यविधि तयार नभइसकेका कारण के के मापदण्ड राख्ने? भन्ने कुराको निधो नभएको तर अहिलेसम्मको तयारीमा आधारभूत तहमा कार्यरत शिक्षकका लागि वितरण गर्ने गरी छलफल भएको उनको भनाइ छ।

‘माध्यमिक तहका प्राय शिक्षकसँग ल्यापटप रहेको अवस्था छ। माध्यमिक तहको विद्यालयमा आइसिटी कार्यक्रमअन्तर्गत पनि कम्प्युटर र ल्यापटपहरू पुगेका छन्,’ उनले भने, ‘कार्यक्रमको सुरुवात चरणमा आधारभूत तहका ७० जना शिक्षकहरूलाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको हो। आगामी वर्षमा संख्या थप गर्दै लैजाने योजना छ।’- उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close