पृथ्वीनारायणबारे उठेका ३ थरी विचार : सत्यको पथमा नगन्य मत

काठमाडौं । हरेक वर्ष पुस महिनाको अन्तिम साता नेपाली राजनीतिमा एउटा स्थायी बहसले ठाउँ पाउँछ, त्यो हो पृथ्वीजयन्तीमा बिदा दिने कि नदिने ? यस्तो बहस पछिल्लो एक दशकदेखि निरन्तरजसो चलिरहेको छ तर यो बहस कहिलै टुंगोमा पुर्‍याउने कोसिस पनि गरिँदैन । यसलाई राजनीतिक विश्लेषकहरू ‘अभावको राजनीतिक एजेण्डा’ रहेकोले सरोकारवाला भनिएको पक्षले नै यसलाई पूर्णता दिन चाहँदैन ।

नेपाल एकीकरणका योजनाकार पृथ्वीनारायण शाहको सकारात्मक र नकारात्मक बहस सधैंभरि किन चलिरहन्छ ? यसको पछि राजनीतिक र सामाजिक स्वार्थ मुख्य रहेको जानकारहरु बताउँछन् ।

१८ औं शताब्दीतिर पश्चिमा मुलुकसँगै नेपालमा पनि राज्यको निर्माण प्रक्रिया सुरु भयो । त्यतिबेला भिन्नभिन्न राज्यको अवधारणा बाहिर आए । कतै राज्य नै राष्ट्र हो र राष्ट्र नै राज्य हो भन्ने अवधारणाले शासकीय स्वरुपलाई निर्देशित गर्‍यो । त्यही अवधारणालाई आधार मानेर सुरु भएको थियो नेपाल एकीकरणको महाअभियान पनि ।

अहिले झण्डै तीन शताब्दीपछिको अवस्थामा आइपुग्दा समेत पृथ्वीनारायण शाहको पक्ष र विपक्षमा बहस चलिरहनुको मुख्य सामाजिक कारण भनेको यही शासकीय स्वरुपमा आएको परिवर्तन नै हो भन्छन् मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डा. डम्बर चेम्जोङ राज्यको परिभाषा र अवधारणामा आएको परिवर्तनले मतभिन्नता निम्त्याएको बताउँछन् भने प्रा. कृष्ण पोखरेल राजनीतिक एवं व्यक्तिगत स्वार्थपूर्तिको लागि पक्ष र विपक्षमा अतिवादी मत आउने गरेको बताउँछन् ।

राजनीतिक रूपमा एजेण्डा सकिएपछि पहिलो संविधान सभा चुनावमा चारसिट मात्रै ल्याएको राष्टि्रय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाह आफ्नो राजनीतिक मुद्दाको रुपमा बोक्न थाल्यो । त्योभन्दा पहिले पनि केही समूहले पृथ्वीनारायणलाई आफ्नो आदर्श नमानेका होइनन् । पृथ्वी विचार अभियान्ता भरत बस्नेत आफूले २०५७ सालदेखि नै पृथ्वीनारायण शाहलाई आफ्नो आदर्श मान्दै आएको बताउँछन् ।

पृथ्वीनारायण शाह २०६२/६३ सालसम्म सामान्यबाहेक खासै बहसको विषय थिएनन् । पर्यटन व्यवसायी भरत बस्नेतले डिल्लीबजारस्थित भोजनगृहमा २०५७ सालमा पूर्णकदको पृथ्वीनारायण शाहको फोटो राखेर त्यहीँ अभियान चलाउन थालेपछि पृथ्वीनारायण शाहको बारेमा बहस चल्न सुरु भयो । बस्नेत आफूले उनको दिव्योपदेशबाट प्रभावित भएर त्यस्तो कार्यक्रम गर्ने र उनको दिव्योपदेश पि्रन्ट गरेर बेच्ने गरेँ । तर त्यतिबेलासम्म पृथ्वीनारायण शाहलाई कसैले पनि सम्झिने गरेका थिएनन् ।’ बस्नेत भन्छन् ‘सकारात्मक होस् या नकारात्मक पृथ्वीनारायण शाहको चर्चा कहिलै टुट्दैन त्यो नै खुसीको कुरा हो ।

पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गर्ने बेलामा पाश्चात्य मुलुकमा दुईवटा राज्यको अवधारणा विकास भएका थिए । बेलायत र त्यसमातहतका राज्यहरुले एकल जातीय आधारलाई नै राज्यको अवधारणाको रूपमा स्वीकार गरेका थिए भने अमेरिका र त्यस मातहतका मुलुकहरुले बहुजातीय अवधारणालाई राज्यको रूपमा मान्न थाले । बेलायती अवधारणासँग मिल्दोजुल्दो यहाँको एउटा मौलिक अवधारणा विकास भयो जसले राज्य नै राष्ट्र हो र राष्ट्र नै राज्य हो भन्ने अवधारणाको विकास गर्‍यो तर २१ औं शताब्दीमा त्यो अवधारणालाई मान्ने मत कम हुन थाल्यो । त्यसैले पक्ष र विपक्षमा बहस बढ्न सुरु भएको मानवशास्त्री डा. चेम्जोङ बताउँछन् ।

डा. चेम्जोङ त्यतिबेलाको राजनीतिक अवधारणा अनुसार पृथ्वीनारायण शाहको कदमलाई आलोचना गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताउँछन् । तर ऊबेलाको राज्य व्यवस्थालाई अहिलेको समयसँग जोडेर विरोध गर्ने र अहिलेको राज्य व्यवस्थालाई ऊबेलाको अवस्थासँग जोडेर व्यवहार गर्न खोज्नेहरुको बीचमा परेको द्वन्द्वको नतिजा नै पृथ्वीनारायण शाहको बारेमा भएको अहिलेको विवाद रहेको चेम्जोङ बताउँछन् ।

त्यस्तै, राजनीतिक विश्लेषक प्रा. पोखरेलको विचारमा भने पृथ्वीनारायण शाहप्रतिको दुईवटै अतिवादी विचार कुनै पनि स्वार्थपूर्तिका लागि भजिएको भजन हो । पोखरेल सत्यता ती दुवै मतको बीचमा रहेको भन्दै बीचको सत्यलाई बुझ्ने मत अत्यन्त कम रहेको बताउँछन् । ‘पृथ्वीनारायण शाह न त भगवान् हुन् न त दानवी स्वभावका । उनी कुनै समयका राजा हुन् जसले नेपाल एकीकरणमा योगदान पुर्‍याए । नेपाली बन्न र नेपालीमा गाली गर्नर् सक्ने अवस्था उनले नै सिर्जना गराएका हुन् । त्यसैले उनको कदमलाई अतिसमर्थन र अतिविरोध गर्नुको औचित्य छैन ।’

पोखरेल बीपी कोइरालाले लेखेको एक आलेखलाई स्मरण गर्दै भन्छन् ‘प्रजातन्त्र प्राप्तिको लागि आन्दोलन चलिरहेको बेलामा वीपी कोइराला काठमाडौं आएर एउटा सम्भ्रान्त परिवारमा शरण लिएका थिए । त्यतिबेला घरधनीले वीपीसँग भनेछन् ‘किन चाहियो प्रजातन्त्र ? किन फाल्नु परेको हो र राणाशासन ?’ पोखरेल यो पृथ्वीनारायण शाहको समयमा दबाइएका रैथाने समुदायले पोखेको मनभित्रको कलुषता थियो भन्छन् । ‘उनीहरुलाई लाग्थ्यो होला आफ्ना पूर्खाहरुको आत्मसम्मानमा चोट पुर्‍याउने पृथ्वीनारायण शाहका सन्तानलाई ठेगान लगाउने राणाशासन नै ठीक छ बरु’ पोखरेल विश्लेषण गर्छन् । अहिलेको अवस्था भनेको नै पृथ्वीनारायण शाह र उनका सेनाको आक्रमणमा परेकाहरु उनलाई राक्षसीकरण गर्ने र राजपरिवारसँग नजिक भएकाको सन्तानले उनको देवत्वकरण गर्ने गरेको पाइन्छ । यसलाई समाजशास्त्रीय हिसाबले हेर्दा जसको संस्कृतिमाथि ऊबेलामा आक्रमण भएको थियो, त्यो समुदायले अहिले सांस्कृतिक चेत विकास भएपछि पृथ्वीनारायण शाहलाई आदर्श मान्न छाडेको देखिने चेम्जोङ बताउँछन् । तर जुन मध्यमार्गी धारको यथार्थलाई धेरैले अँगाल्न नचाहेको तर्कमा डा. चेम्जोङ र प्रा. पोखरेलको एक मत रहेको छ ।

चेम्जोङ मान्छेलाई दैव या दैत्य बनाउनेबाहेक मध्यमार्गी बाटोमा हिँड्नै नसक्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्छन् । ‘राज्य फरक कुरा हो भने राष्ट्र फरक कुरा हो । स्वार्थको कारणले होस् या विशाल भावनाका कारणले होस् पृथ्वीनारायण शाहले नेपाल राज्यलाई एकीकरण गरेकै हुन् ।’ चेम्जोङ भन्छन् ‘तर अहिलेको अवधारणालाई मान्ने हो भने राष्ट्र एकीकरण भएको थिएन, केवल राज्यमात्रै एकीकरण भएको थियो । अहिलेको विवादको मूल जरो यही हो ।’

अहिलेको जस्तै एकीकरणको क्रममा पनि सबै जाति र धर्मको सहवरण गर्ने रणनीति पृथ्वीनारायण शाहले अपनाएका थिए । अहिले मधेशमा जाँदा धोती लगाउने र हिमालमा जाँदा बख्खु लगाउने जुन राजनीतिक संस्कार छ यो पनि सहवरणको उत्कृष्ठ उदाहरण हो । यद्यपि एकीकरणको समयमा एकल जातीय एवं एकलभाषिक राज्यको रूपमा नै विस्तार गरिएको थियो । चेम्जोङ काठमाडौं विजयपछि कुमारीलाई ढोग्न जानु पृथ्वीनारायण शाहको सहवरणको नीति रहेको बताउँछन् ।

‘पृथ्वीनारायणले राज्य विस्तार गरेनन्, एकीकरण गरे’

पृथ्वीनारायण शाहले गरेको काम एकीकरण हो कि विस्तार भन्ने बहस पनि सदावहार चलिरहने बहस हो । तर प्रा. पोखरेल यसलाई विस्तार भन्न नसकिने तर्क गर्छन् । मानदेवको पालामा पश्चिममा गण्डकीपारि र पूर्वमा कोसीप्रदेशसम्म नेपालको सिमाना थियो । भारतीय शासक समुद्र गुप्तको प्रयाग प्रशस्तीमा नेपालको सिमाना पश्चिममा काश्मीरसम्म र पूर्वमा आसामसम्मको भागलाई नेपाल भनिएको छ । यक्षमल्लको समयमा यस्तै विशाल नेपालको सिमाना उल्लेख छ । त्यसैले पृथ्वीनारायण शाहले पहिले नै नेपालको सीमाभित्र समेटिइसकेका राज्यलाई एकीकरणमात्रै गरेका हुन् विस्तार गरेका होइनन् भन्ने मत पोखरेलको छ । राज्य एकीकरणको क्रममा साम, दाम, दण्ड र भेद सबैको प्रयोग गरिएकोले सो क्रममा केहीको चित्त दुखेको पनि हुन सक्ने उनी बताउँछन् ।

जानकारहरु त्यतिबेलाको अवस्थालाई विश्लेषण गर्दै भन्छन् ‘त्यतिबेला ब्यारेक राख्ने चलन थिएन । विजयी भएपछि सैनिकहरुले हरेक स्थानीयको घर हडपेर बसे । विजयी सेनाले केही उदण्ड पनि मच्चाए होला । तर त्यो राज्यले मच्चाएको उदण्ड थिएन भन्ने पोखरेलको मत छ ।’ त्यतिबेला सेना र युद्धको क्रममा चपेटामा परेकाहरुको नयाँ पुस्ताले बढी अतिवादी स्वरहरु उठाउने गरेको प्रा. पोखरेल बताउँछन् ।

पृथ्वीनारायण सम्बन्धी नयाँ अभियानको औचित्य

पृथ्वीनारायण शाहको बारेमा यावत सकारात्मक र नकारात्मक अभियानहरु समेत अहिले आइरहेका छन् । अभियान चलाउनेहरुमध्ये धेरै अतिवादी सोचका छन् । यी सबैखाले अतिवादी सोच राख्ने अभियानहरु छुट्टाछुट्टै स्वार्थसँग जोडिने गरेको उनी बताउँछन् ।

एकाथरीले दिव्योपदेश पृथ्वी नारायण शाहले लेखेकै होइनन् भन्ने तर्क गर्छन्, अर्काेथरीले दिव्योपदेश नै अकाट्य सत्य हो भन्ने भ्रम पाल्छन् ।

त्यसैले यस्तो तर्कलाई परास्त गर्नेभन्दा पनि सही जानकारी दिएर व्यवस्थापन गर्नुपर्नेमा जानकारहरु जोड दिन्छन् । राजनीतिक विश्लेषक पोखरेल कुनै कारखानाले प्रोडक्ट लन्च गर्दा मार्केट सर्भे गरेर सामान पठाए जस्तै राजनीतिमा पनि मार्केट सर्भे गरेर एजेण्डा तयार पार्ने प्रवृत्ति हाबी भएकोले यस्ता अभियानहरु धेरै आउन थालेको बताउँछन् ।

यही क्रममा जनताले चाहे अनुसार पृथ्वीनारायणको समर्थन र विरोध गर्ने स्वरहरु स्वार्थपूर्तिका लागि उठ्न थालेको उनी बताउँछन् । नयाँ स्वतन्त्र अभियान्ताको रुपमा उदाएका रमेश खरेल, मनीषा कोइराला जस्ता व्यक्तिहरुको अहिलेको स्वार्थ केही नदेखिए पनि पछिको स्वार्थ के हो ? भन्नेबारेमा सचेत हुनुपर्ने उनी बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close